सन्दिप अधिकारी
नयाँ शक्ति नेपालले छोटो समयमा हासिल
गरेको उपलब्धिबाट केही राजनीतिक दलका नेता कार्यकर्तामा अहिले पैदा भएको
छटपटीको दृश्य साँच्चै रोचक देखिन्छ । व्यापक होहल्ला र कुतर्कबाट भ्रमलाई
स्थापित गर्ने मिसन दयालाग्दो र जनतालाई दिग्भ्रमित पार्ने खालको छ ।
प्रभातकुमार मुखर्जीको एउटा चर्चित कथा यस
सन्दर्भमा स्मरणीय छ । कथाको सारांश यस्तो छ – नन्दीपुर र गोसाइगञ्ज दुई
गाउँबीच हरेक कुरामा प्रतिस्पर्धा चल्थ्यो । गोसाइगञ्जका प्रधान हिरालाल
नन्दीपुर जस्तो पछौटे गाउँमा स्कुल खोलेर त्यहाँका वासिन्दालाई शिक्षा
दिएको खबरले स्तब्ध भए । शिक्षक थिए इन्दन चक्रवर्ती ।
आफ्नो प्रतिस्पर्धी गाउँमा अङ्ग्रेजी पढाइ
भएको सुनेर हिरालालले ‘सर्वनाश भयो’ भन्दै नन्दीपुरका सामु गोसाइगञ्ज
नझुक्ने बरू जनताका लागि त्यो भन्दा राम्रो स्कुल खोल्ने आश्वासन दिँदै
एकजना मास्टर खोजेर ल्याए, वज्रगोपाल मिश्र ।
ती दुई अङ्ग्रेजी मास्टरहरू एकआपसमा
परिचित नै रहेछन् । आफ्नो गाउँमा आउँदै गरेको मास्टर पढाइ बीचैमा छाडेको,
पढ्नमा लद्दु भएको भन्ने सूचना पाएपछि गोसाइगञ्जवासी चिन्तित भए । तर
‘प्रश्नको जवाफ दिन नसक्ने त इन्दन मास्टर हो’ भन्दै म असल शिक्षक हो भनी
बज्र मास्टरले भ्रम फैलाउन थाले । दुबै गाउँका मान्छेहरूलाई आफ्ना गाउँका
शिक्षकमाथि शंका उब्जियो । तिनीहरूले मास्टरहरूको परीक्षा लिने निर्णय गरे ।
दुबै गाउँका मानिसहरू अङ्ग्रेजी पटक्कै जान्दैनथे । उनीहरूले उपाय निकाले ।
एउटाले अङ्ग्रेजी शब्दको अर्थ सोध्ने र अर्कोले बताउने । दुबैले वताए,
दुवै बराबर, बताउन नसक्नेको हार हुने शर्त राखियो ।
गाउँलेहरू दुई गाउँको बीचमा रहेको वरको
रूखमुनि बाजागाजा लावालस्करसहित जम्मा भए । नन्दीपुरका मास्टर
आत्मविश्वासका साथ उभिए, बज्र मास्टरको छाती ढुकढुक गर्दै थियो तर
अनुहारमा त्यो भाव प्रकट हुन दिएनन् । इन्दन मास्टरले सोधे, ‘Horns of a
dilemma’ को अर्थ के हो? संयोगले बज्र मास्टरलाई यसको अर्थ थाहा थियो छाती
फुलाएर भने, ‘उभय सङ्कट!’ त्यसपछि बज्र मास्टरको सोध्ने पालो आयो । म यति
असजिलो प्रश्न होइन एउटा सरल शब्दको अर्थ सोध्छु त्यसको अर्थ कराएर
भनिदिनोस् ‘I don’t know’ को अर्थ के हो? इन्दन मास्टरले तुरुन्तै जवाफ
दिए, ‘म जान्दिनँ’ ।
इन्दन मास्टरले ‘म जान्दिनँ’ भनेको
सुन्नेवित्तिकै गोसाइगञ्जका मानिसहरू ‘इन्दन मास्टरले जान्दैन’ ‘नन्दीपुरले
जान्दैन’ भन्दै उफ्रिए । ढोलक ठोके, झ्याम्टा पिटे, तुरही फुके ।
उफ्रीउफ्री नाचे, पेट मिची मिची हाँसे । ‘गोसाइगञ्ज अमर होस्’ भन्दै बज्र
मास्टरलाई काँधमा बोकी गाउँतिर लागे । भोलिपल्ट इन्दन मास्टर नन्दीपुर
छाडेर गए । त्यहाँको स्कुल पनि बन्द भयो । गोसाइगञ्जका बज्र मास्टर
निर्धक्क मास्टरी गर्न लागे । कथा सकियो ।
हो यस्तै जालझेल, छलकपट र होहल्ला गरेर
नयाँ शक्ति नेपालको गतिलाई अवरोध गर्ने क्रियाकलाप दिनदिनै बढेर गएको छ ।
हाल माओवादी केन्द्रका लागि एउटा अतिरिक्त कार्यभार, स्कुलिङको सवाल र
बाबुरामप्रतिको आरोप एउटा व्यापक मिसन बनेको छ ।
अतिरिक्त कार्यभार
माओवादी केन्द्रले आन्तरिक प्रतिस्पर्धा
मापनको सजिलो सूत्र तय गरेछ । जति धेरै बाबुराम भट्टराईलाई गाली गर्न सक्यो
उति धेरै नम्बर पाइने । जति धेरै उटपट्याङ उपमा र अलङ्कार नयाँ शक्तिलाई
भिडाइदिन सक्यो उति खुङ्खार क्रान्तिकारी भइने । माओवादीका एक जिम्मेवार
नेताले यसलाई आफूहरूको अतिरिक्त र अनिवार्य कार्यभार जस्तै बनाएको गुनासो
गर्छन् । आफ्नो आन्तरिक समीक्षामा स्थानीय निर्वाचन भइहाले पार्टीले
देशभरमा तीन नम्बर प्रदेश अन्तर्गत हालै घोषणा भएको एउटा नगरपालिका बाहेक
कुनै पनि नगरपालिका जित्न नसक्ने निष्कर्षप्रति उनी निकै चिन्तित देखिन्थे ।
जनयुद्धभरि राज्य-सत्ताद्वारा जनयुद्ध
विरुद्ध परिचालित व्यक्तिहरूलाई आज आएर शहीद वेपत्ताहरूको सपनाले यतिविघ्न
किन लघारेको होला ? यो पनि अर्को आश्चर्यको विषय छ । नियमित
प्रतिक्रियावादमा रमाउनु नै राजनीति हो भन्ने सोच्ने गवाँरहरूलाई इतिहासको
न्याय र अन्याय छुट्याइ समीक्षा गर्ने हैसियत कहाँबाट प्राप्त भयो यो पनि
अर्को आश्चर्य रहेको छ । गोसाइगञ्जका बज्र मास्टरले जस्तै वनावटी नक्कली
क्रान्तिकारी अनुहारको विगविगी नै बढेर गएको छ ।
स्कुलिङमै समस्या
कुनै पनि राजनीतिक शक्तिको आत्मा भनेको
स्कुलिङ हो । स्कुलिङ गलत हुँदा निकै ठूलो आन्दोलन दश वर्षको दौरानमा
विसर्जनमा पुग्नु वास्तवमै दु:खद् पक्ष हो । हिजो पनि मार्क्सवादको
सिर्जनशील प्रयोगसहित जानुपर्छ भन्ने दृष्टिकोण अल्पमतमा पर्यो । आज पनि
साँचो अर्थमा जनताको जनजीविकाको सवाल उठान गर्ने व्यक्तिहरू सडकमै छन् ।
आफ्नो निजी स्वार्थका लागि कहिले वल्लो कित्ता, कहिले पल्लो कित्ता चहार्दै
हिँड्ने अवसवादीहरूको झुन्डकै बोलवाला माओवादी केन्द्रभित्र देखिन्छ ।
हिजोको जनयुद्धको विरासतलाई धुमिल बनाउने तत्त्व पनि यही अवसरवादीहरू हुन् ।
आज आएर माओवादी केन्द्रको स्कुलिङ
मार्क्सवाद, माओवाद र यसको सिर्जनात्मक प्रयोग नभएर जसरी हुन्छ नयाँ
शक्तिको आलोचना, विशेष गरी डा. भट्टराईको बद्ख्वाइँ गर्नुमा केन्द्रित छ ।
उनीहरूको स्कुलिङको अभ्यास कसरी विकसित भएको छ भन्ने नमुना राजतन्त्रवादी,
संघीयता र गणतन्त्र विरोधीसँगको साँठगाँठले सजिलै प्रस्ट्याउँछ । यस
सन्दर्भसँग वैकल्पिक राजनीतिक धार बोकेको नयाँ शक्ति मात्र होइन हिजो यस
आन्दोलनसँग आवद्ध सच्चा मार्क्सवादीहरू पनि चिन्तित र निराश भएका छन् ।
हिजो अवसरका लागि पार्टी प्रवेश गरेका लाउकेहरूले वैकल्पिक शक्तिका विरुद्ध
भ्रामक कुरा फैलाउनु अस्वाभाविक देखिँदैन । राजनीतिक पार्टीहरू आफ्नो
वैचारिक अभियानलाई तिलाञ्जली दिँदै अर्काको बद्ख्वाइँमा अग्रसर हुनु
प्रतिक्रियावादको नमुना हो । यो उनीहरूको स्कुलिङमा आएको समस्या हो ।
निरन्तर राजनीतिमा सक्रिय भट्टराईउपर उमेर
लगायतका प्राविधिक कुरा उठाएर उनको खेदो गर्नु सही कुरा होइन । कुनै पनि
राजनीतिक नेता चाहे त्यो जुनसुकै पार्टीको होस् उसले लामो उमेरसम्म
क्रियाशील हुन्छु भन्नु उसको आत्मविश्वास र इच्छाशक्तिको नमुना हो । जुन
भट्टराईमा देखिएको छ । यो नेपालको सन्दर्भमा मात्र नभएर धेरै छिमेकी देशका
लागि पनि नमुना हुन सक्छ । यसै गरी जहाँसम्म भट्टराईले मार्क्सवादको उछितो
काडे भन्ने कुरा छ बरू उनले समय सापेक्ष रूपमा मार्क्सवादको पुनर्व्याख्या र
सिर्जनात्मक विकासमा अगाडि बढ्नु पर्छ भनेका छन् त्यसलाई ताछ्नुपर्छ
कहिल्यै भनेका छैनन् ।
हिजो ज्यान दिनेहरूले पनि आफ्नो ज्यानको
बाजी लगाएको समृद्धिका लागि नै हो । गैरराजनीतिक व्यक्तिहरूको साथ समर्थन
सहित एउटा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियानमा हिजोका-आजका,
राजनैतिक गैरराजनीतिक सबैलाई समेट्न सक्नु एउटा नमुना राजनीतिक प्रयोग हो ।
कुनै पनि राजनीतिक शक्तिको स्कुलिङ अर्काको खोइरो खन्नु हुनै सक्दैन ।
त्यसमा बरू आफ्ना आन्तरिक समस्या हल गर्दै साझा एजेन्डामा खुला छलफल गर्नु
रहन सक्छ ।
जनवादको सवाल र बाबुराम
हिजो पनि बाबुराम भट्टराईले पार्टीभित्र
लोकतन्त्रको अभ्यास चलाउन चाहेका थिए । जनवाद र लोकतन्त्रको असल प्रयोग
गर्ने मोडलहरू प्रस्तुत गर्दा इतिहास साक्षी छ उनलाई पार्टीभित्रै मानसिक
यातना, नजरबन्द र कतिपय सन्दर्भमा ज्यानै लिनेसम्मको गम्भीर योजनाहरू पनि
नबनेका होइनन् । यस सन्दर्भमा आज बाबुराम भट्टराई जहाँ छन् त्यहाँ उनका
सपनाहरूको प्रतिविम्व प्रस्तुत गर्ने सही ठाउँमा छन्, उनी त्यो गलत ठाउँमा
छैनन् जहाँ जनवादी केन्द्रीयताका नाउँमा आफू बनेर होइन अरूलाई ताछेर आफ्नो
उचाइ बढाउन चाहनेहरूको वर्चस्व छ ।
हामी अरूलाई होच्याएर आफू उच्च हुने वा
अरूलाई गलत सावित गरेर आफू चोखो हुने ठाउँमा छैनौं । हाम्रो दर्शन भनेको
विकासवाद र समाजको समृद्धि नै हो । विचार, चिन्तन र वाद भन्ने कुरा कुनै
खम्बा होइनन् जसलाई छेपाराले झैं समातिरहनु पर्छ । विचारको कोही ठेकेदार
हुँदैन जसले कुनै विचारको दीर्घकालीन ठेक्का लिएको छ । यो त व्यवहारले
देखाउने हो र विचार व्यवहारबाट जन्मने पनि हो । नयाँ शक्तिले लिएको विचार त
आलोचकहरूले भनेजस्तो खिचडी नभै जनताको बीचमा प्रमाणित भइसकेको तथ्य हो
। हामी सबैलाई विकासवाद र समृद्धिको यो अभियानमा सामेल हुन सौहार्दपूर्ण
तरिकाले आह्वान गर्छौं । कसैको नकारात्मक रूपले खण्डन गरेर समय विताउने
नयाँ शक्तिको मक्सद हुँदै होइन । हामी कथाका पात्र इन्दन मास्टर झैं
भाग्दैनौं बरू समस्यासँग जुध्छौं । हाम्रा विरुद्ध गरिने नाजायज
बद्ख्वाइँका विरुद्ध हामी बोल्छौं र हामी विकासको गतिमा अगाडि लम्कन ढिलो
गर्दैनौं ।
Post a Comment