0




२९ असार, भैरहवा । के तपाईंले व्यवसाय सञ्चालन गरेर खुल्ला रुपमा एक/एक खिल्ली चुरोट बिक्री वितरण गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने अब कानुनी कारबाहीमा पर्नुहुनेछ । किनभने सार्वजनिक रुपमा सुर्तीजन्य पदार्थ देखाएर र एक/एक खिल्ली मात्र चुरोट बिक्री वितरण गर्न पाइँदैन ।
Churotकानुन विपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने उपर रुपन्देही जिल्लामा अनुगमन सुरु भएको छ । त्यस्तै सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्नेलाई पनि कारवाही हुनेछ ।
जिल्ला प्रशसान कार्यालय रुपन्देही र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले संयुक्त रुपमा गरेको अनुगमन गरी कानुन विपरीत सुर्तिजन्य पदार्थको विक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतवानी दिएको हो ।
भैरहवा बजार क्षेत्रमा गरिएको अनुगमनमा व्यावसायीले सार्वजनिक रुपमा सुर्तीजन्य पदार्थ देखाएर बिक्री वितरण र खुल्ला रुपमा एक/एक खिल्ली चुरोट बिक्री वितरण गरिएको पाइएको थियो ।
‘चुरोटको बट्टा विक्री गर्न पाइन्छ तर एक/एक खिल्ली चुरोट विक्री वितरण गर्न पाइँदैन,’ जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक कृष्णप्रसाद पोख्रेलले भने, ‘अब यसरी कानुन विपरीत बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुनेछ ।’
सरकारले सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्न जारी गरेको निर्देशिका २०६८ को पनि केही उद्योगले पालना नगरेको अनुगमनमा पाइएको कारण सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई समेत कानुनी दायरामा ल्याउने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चापागाईंले बताए ।
निर्देशिका अनुसार खैनी, सुर्ती, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्सको अगाडि पछाडिको मुख्य माथिल्लो भागमा ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सूर्तिजन्य पदार्थ सेवनले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक चित्र सन्देश र पछाडिको चेतावनी मूलक चित्रको मुख्य तल्लो भागमा ‘सूर्तिजन्य पदार्थ सेवनले मुख तथा घांँटीको क्यान्सर हुन्छ, खैनी सूर्तिसेवन गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश छाप्नु पर्ने हुन्छ ।
निर्देशिकामा चित्रः खैनी, सूर्ति, गुट्खा जस्ता सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको ९० प्रतिशत माथिल्लो मुख्य भागमा मुख घाँटीको क्यान्सर भएको चेतावनीमूलक चित्र छाप्नुपर्ने उल्लेख छ । अनुगमनको क्रममा कानुन विपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण गरिरहेको पाइएको कारण पहिलो पटकको लागि चेतावनी दिइएको र फेरि फेला परे कानुन बमोजिम कारबाही गरिने रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले बताए ।




  source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top