0

पीडितको रकम हिनामिना गर्नेलार्इ कारवाही होस्

प्रकाश श्रेष्ठ


नेपालमा जान्ने सुन्ने हुँ भन्नेदेखि सामान्य लेखपढ गर्न जानेका व्यक्तिहरु समेत विभिन्न तरिकाबाट अमेरिकामा आएर अनेक सामाजिक संघ, संस्था खोलेर बसेका छन् । आजकल नेपालका नेतादेखि चर्चित कलाकारहरु र विभिन्न क्षेत्रका नाम चलेका व्यक्तिहरुको समेत रोजाइको देश बनेको छ अमेरिका ।
prakash shrestha
प्रकाश श्रेष्ठ
अमेरिकाका ५० वटा राज्यमध्ये अधिकांश नेपालीहरु भएका स्टेटमा दैनिकजसो एउटा न एउटा कार्यक्रम भइरहेका हुन्छन् । हुन पनि करिव अनुमानित ७ सयभन्दा बढी सामाजिक संस्थाहरु नेपाली समुदायबाट संचालन गरेको अनुमान लगाउने गरिएको छ ।
त्यसमा पनि नेपालीहरुको चाहना भनेकै यस्तै संस्थामार्फत विभिन्न नाममा कार्यक्रम गर्ने र मानिसहरुको जमघट गरेर मञ्चमा आसीन भएर खादा ओढेर भाषण पड्काउने रहर नेपालदेखिकै बानी हो । अमेरिका जस्तो व्यस्त मुलुकमा समेत त्यो बानीले नछाडेको जोकोहीले अनुमान गर्न सकिन्छ ।
सामाजिक संस्था खोलेर त्यसलाई आयआर्जनको माध्यम बनाउनेहरुको लावालस्कर अमेरिकामा अन्य मुलुकहरुमा भन्दा बढी नै पाइन्छ । एक त संसारकै उत्कृष्ट मुलुकमा आएर रोजगारी र पेशामा संलग्न हुन पाएको भन्दै नाक फुलाएर गफ र भाषण गर्ने प्रवृत्ति अर्कोतर्फ सजिलै सर्वसाधारण नेपालीहरुलाई भ्रम छर्न सक्ने अवस्थाले गर्दा पनि अमेरिकामा स्थापित अधिकांश नेपाली सामाजिक संघ संस्थाहरु केही चल्तापूर्ता व्यक्तिहरुको आय आर्जन गर्ने पेशाका रुपमा स्थापित भएको सहजै अनुमान लगाउन सकिन्छ ।
गतसाल भूकम्प जाँदा अमेरिकामा लाखौं डलर सर्वसाधारणहरुबाट विभिन्न संघ संस्थाहरुले उठाए । तर, अझैसम्म के कति रकम नेपालमा खर्च गरेका छन् र के कति रकम कहाँकहाँ बाट उठेको थियो, त्यसको हरहिसाब कसैले पनि सार्वजनिक गर्न सकिरहेका छैनन् ।
गैरआवासीय नेपाली संघ एनआरएन अमेरिकादेखि विभिन्न राजनैतिक दलका विदेशी सम्पर्क समितिहरु र अन्य विभिन्न ठूलासाना सामाजिक संघसंस्थाहरुले आफूले के कति रकम भूकम्प पिडितका नाममा चन्दा संकलन गरे र के कति रकम नेपालमा लगेर पीडितलाई बाँडे भन्ने कुरा सार्वजनिक गर्न सकिरहेका छैनन् । उनीहरूले न त सार्वजनिक लेखा परिक्षण नै गर्न सकिरहेका छन्, न त आफु कार्यरत संघ संस्थाका सदस्यहरुलाई नै त्यसबारे विस्वस्त बनाउन सकिरहेका छन् ।
यसै विषयलाई लिएर कतिपय राजनैतिक दलका सम्पर्क समितिहरुभित्र एकअर्कालाई आर्थिक विचलन गरेको आरोप प्रत्यारोप चलिरहेको छ ।
अमेरिकामा रगतसँग डलर साटेर कमाएको पैसा भूकम्प पीडित दाजुभाइ दिदीबहिनीहरुलाई आफू सक्दो सहयोग दिएर विपतको घडीमा आत्मीयता, सद्भाव, मानवीयता दर्शाएका लाखौं नेपालीहरु यस्ता सामाजिक संघ संस्थाहरुको गैरजिम्मेवारिता देखेर निकै मर्माहत भएका छन्
विभिन्न सोसियल मिडिया र अनलाइन मिडियाहरुमा आर्थिक दुरुपयोग र पदीय गैरजिम्मेवारीपन देखाएर भूकप्प पीडितका नाममा लुटको धन्दा मच्चाइएको भन्दै खबर बाहिर आएपछि भने सम्पर्क समितिहरु लगायत अन्य सामाजिक संघ संस्थाहरुको निद्रा हराम भएको छ । उनीहरु अहिले हिसाब–किताब मिलान गर्न नक्कली विल भर्पाई पेश गर्दै लेखा परीक्षण गरी अमेरिकन राज्यलाई नियमसंगत रुपमा कर लगायतका शुल्क तिरेर आफ्नो टाउको जोगाउन खोजिरहेका छन् ।
कतिपय संघ संस्थाहरुले भूकम्प पीडितका नाममा उठाएको रकममा नेपालबाट आउने नेताजीहरुको स्वागत सत्कारको कार्यक्रममा भोजभतेर र मोजमस्तीमा प्रयोग गरेको भनाइसमेत बाहिर आइरहेको छ ।
नेपाली नेताहरुको भ्रस्टाचार गर्ने शैलीलाई अनुसरण गर्दै आर्थिक दुरुपयोग गर्न कम्मर कसेका कतिपय व्यक्तिहरु भोलि गएर अमेरिकी कानुनअनुसार दण्डित हुन सक्ने सम्भावनासमेत रहेको कुरा नेपाली जानकार कानुनविदहरुले पनि औल्याउँदै उनीहरुलाई सजग बनाउन थालेको देखिन्छ ।
अमेरिकामा रगतसँग डलर साटेर कमाएको पैसा भूकम्प पीडित दाजुभाइ दिदीबहिनीहरुलाई आफू सक्दो सहयोग दिएर विपतको घडीमा आत्मीयता, सद्भाव, मानवीयता दर्शाएका लाखौं नेपालीहरु यस्ता सामाजिक संघ संस्थाहरुको गैरजिम्मेवारिता देखेर निकै मर्माहत भएका छन् । आफ्नो मातृभूमिमा परेको विपतको घडीमा सहयोगका लागि एकता प्रदर्शन गरेका जनाएका सर्वसाधारणको भावनामा ठेस पुर्याएर जे जस्ता गतिविधि नाम चलेका सामाजिक संघ संस्थाहरुले प्रदर्शित गरे, त्यसले आगामी दिनमा यस्तै प्राकृतिक विपत र देशलाई संकट पर्दा सहयोग उठाउन सहजै सकिने सम्भावना न्यून भएर गएको छ ।
गत साल भूकम्प पीडितका नाममा उठेको रकम राहतस्वरुप बाँड्न जाने नाममा व्यक्तिगत भ्रमणका क्रममा पनि त्यही रकमलाई आतेजाते खर्चदेखि नेपाल बसाइमा घुमघाम गर्न समेत प्रयोग गरेको पाइएको छ । नेपालमा दुई चार कार्टून चाउचाउ, दुई चार थान त्रिपाल र जस्तापाताहरु पीडितलाई दिएका फोटोहरु खिचेर सोसियल मिडिया भाइरल बनाएर पीडितहरुलाई सहयोग गरेको नाटक मञ्चन धेरैले गरे ।
वास्तवमा जे जति रकम जुन उद्देश्यका लागि उठेको हो, त्यसको सही सदुपयोग भएको भए अझैसम्म पीडितहरु प्वाल परेको त्रिपालमुनि भोको पेटलाई धरोले कसेर अहिलेसम्म बस्नुपर्ने थिएन ।
अमेरिका मात्र हैन, विश्वका अनेकन देशमा नेपालीहरुबाट यसरी नै भूकम्प पीडितका नाममा सहयोग उठाएको रकम पीडितसमक्ष सहीरुपमा पुग्न सकेन । कतिपय राजनीतिक सम्पर्क समितिहरुले त उठेको अधिकांश रकम राजनीतिक पार्टीको खातामा जम्मा गरेर तिनै पार्टीका नेताहरु मार्फत उक्त रकमको चरम दुरुपयोग गरे ।
अहिलेसम्म पनि नेपालमा त्यतिवेला पीडितका नाममा विदेशबाट पठाइएका त्रिपाल, लत्ताकपडा लगायत अत्यावश्यक सामाग्रीहरु लुकाएर राखेको सर्वसाधारणले भेटेर सार्वजनिक समेत गर्दै आएका छन् ।
यतिसम्म कि पीडितलाई विभिन्न राष्ट्रबाट खाद्यान्न सहयोग गरेको पनि यत्तिकै गोदाममा थन्काएर राखिएको र कतिपय गोदाममा कुहिएको चामल खाडल खनेर पुरिएको दृश्य पनि टेलिभिजनको पर्दामा सर्वसाधारणले टुलुटुलु हेर्नु परेको छ ।
पीडितका नाममा लुटको खेती गर्ने जो कोही, नेपालमा रहने वा विदेशमा रहने कोही पनि अनियमितता गर्नबाट बच्न पाउनुहुँदैन
दातृराष्ट्रले दिएको सहयोग रकम र दिने आश्वासन गरेको रकमलाई समेत अझैसम्म स्पस्ट तवरबाट पीडितको सहयोग हुने गरी बाँड्ने तौरतरिका सरकारले मिलाउन सकेको छैन । साथै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सही ढंगबाट तिव्र गतिमा काम अगाडि बढाउन नसकिरहेको छर्लंग देखिएको छ ।
अब वर्षादको समय लागिरहेको अवस्थामा समेत सामान्य ओतसमेत पीडितले प्राप्त गर्न नसक्नु, भोकभोकै पीडितहरु जीवन यापन गर्नुपर्ने बाध्यता हुँदासमेत राजनैतिक दलहरु आपसमा पीडितको नाममा राजनीति गरेको देख्दा सर्वसाधारणहरु राजनीतिक नेताहरु प्रति निकै आक्रोसित देखिन्छन् ।
  अत: अमेरिकालगायत हरेक मुलुक जहाँ जहाँ भूकम्प पीडितका नाममा आर्थिक सहयोग संकलन गरिएको थियो, त्यो रकम सम्बन्धित पीडितसम्म पुगे नपुगेको स्पस्ट रुपमा सर्वसाधारणले थाहा पाउने गरी हिसाब–किताब सार्वजनिक हुनुपर्छ । यिदी हुन नसके त्यस्ता व्यक्ति, संघ, संस्थाहरुको नाम सार्वजनिक गरेर तिनीहरुलाई खवरदारी गर्दै कानुनी कठाघरामा उभ्याउनुपर्छ ।
पीडितका नाममा लुटको खेती गर्ने जो कोही, नेपालमा रहने वा विदेशमा रहने कोही पनि अनियमितता गर्नबाट बच्न पाउनुहुँदैन । यसमा सम्पूर्ण पक्षहरुको ध्यान पुग्न सकोस् र यस्ता कुराहरुको सही जानकारी र खोजहरु विभिन्न मिडियाबाट पनि हुन सकोस् । र, यसलाई बाहिर ल्याउने काममा विशेष पहल गरियोस् ।
विदेशमा नेपाली समुदायको नाम बेचेर आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्नेहरुको जमात दिन प्रतिदिन विकराल रुपमा विस्तार हुँदै गएकोमा सर्वसाधारण व्यक्तिहरु अमेरिकामा चिन्तित हुँदै गएका छन् ।
–मेरिल्याण्ड, अमेरिका

 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top